काठमाडौं : बालुवाटारस्थित ललिता निवास क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध सूचना जारी गरिएको छ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको हो ।
ती ४९ जनाको घरमा सूचना टाँस गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।
भूमिसुधार कार्यालयले २०७७ साल चैत २० गते जग्गा हिनामिनामा संलग्न ४९ जनाको घरमा सूचना टाँस गर्न आदेश दिएको थियो ।
मालपोत कार्यालयले सार्वजनिक गरेको सूचनामा जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा स्वतः नामसारी हुने बताइएको छ ।
सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा देखिएको छ । ढकाल र उनको परिवारको नाममा २२ कित्ता रहेको ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयको छ ।
