प्रधानमन्त्री ओलीद्वारा खोप उपलब्ध गराउन बेलायती समकक्षी जोन्सनसमक्ष आग्रह
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कोभिड–१९ महामारीविरुद्ध खोप सहायता उपलब्ध गराउन बेलायती समकक्षी बोरिस जोन्सनलाई आग्रह गरेका छन् ।
बीबीसी विश्व सेवालाई शुक्रबार बेलुका अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले बेलायतको लागि गोर्खाली सैनिकले गरेको योगदानको महत्व बुझेर पनि बेलायतले नेपाललाई खोप प्राथमिकतामा राख्नुपर्ने बताए ।
बेलायतसँग सदियौं पुरानो सम्बन्ध रहिआएकाले बेलायतले नेपाललाई सहयोग गर्नुपर्ने उनको भनाई थियो । नेपाल बेलायतको पुरानो मित्र भएको नाताले पनि आफूले सीधै आग्रह गरेको समेत उनले बताए ।
बीबीसीका अनुसार बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्स संयन्त्रलाई ५४८ मिलियन पाउन्ड सहयोग गरेको र नेपालले त्यहीअन्तर्गत खोप सहायता प्राप्त गर्ने जनाए । यो वर्षभित्र नेपालले खोप प्राप्त बेलायती विदेश मन्त्रालयका प्रवक्ताको भनाइ छ ।
प्रधानमन्त्री ओलीले बेलायती विदेशमन्त्री डोमिनिक रावसँग नेपालका समकक्षीले गरेको र आफूले प्रधानमन्त्री जोन्सनसँग सीधा सम्पर्क स्थापित गर्न खोजको बताएको पनि बीबीसीले उल्लेख गरेको छ । गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्राचार गर्दै खोप आपूर्तिका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।