काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।
नवनियुक्त तीन उपप्रधानमन्त्रीसहितका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । तीन उपप्रधानमन्त्रीहरू विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोले राष्ट्रपतिको कार्यालय शीतल निवासमा सपथ लिएका हुन् ।
त्यसैगरी ओली मन्त्रिपरिषदमा थपिएका अन्य १० जना मन्त्रीले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । जनता समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रीको सपथ लिएका छन् ।
त्यसैगरी शरदसिंह भण्डारीले ऊर्जा तथा जलश्रोत मन्त्रालय सम्हालेका छन् । त्यस्तै अनिलकुमार झाले खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हाल्नेछन्। उता लक्ष्मणलाल कर्णले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लिएका छन् ।
विमल श्रीवास्तवलाई श्रम तथा रोजगार, उमाशंकर अरगरियालाई वन तथा वातावरण, चन्दा चौधरीलाई महिला तथा बालबालिका र एकबाल मियाँलाई युवा तथा खेलकुद मन्त्री बनाइएको छ । त्यसैगरी चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री बनेका छन् भने रेणुका गुरुङलाई महिला तथा बालबालिका राज्यमन्त्री बनाइएको छ ।
यता एमालेबाट रघुवीर महासेठ उपप्रधानसँगै परराष्ट्र मन्त्री बनेका छन् । शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री भएका छन् भने अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ ।
मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे बाहिरिएका छन् ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि बाहिरिएका छन् ।
स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट बाहिरिएका छन् ।