ललितपुर : ललितपुर महानगरपालिकाले कोरोना प्रभावित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले अस्पताल भर्ना भएर कोरोनासंक्रमणमुक्त भएका व्यक्तिलाई रु २५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।
त्यस्तै आइसियु वा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई रु ५० हजार प्रदान गरिने महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । कोरोनाको दोश्रो महामारी शुरु भएपछि कोरोना संक्रमका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई रु १ लाख सहयोग प्रदान गर्ने निर्णय भएको उनले बताए ।
उक्त सहयोग महानगरभित्रका स्थायी बसोवास गरेका नागरिकलाई प्रदान गरिन महर्जनले जानकारी दिए ।
त्यस्तै महानगरले प्रत्येक वडामा पिसिआर र एन्टीजेन परिक्षणको व्यवस्था गरेको तथा विभिन्न स्थानमा आइशोलेशन पनि सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । ‘नागरिकको स्वास्थ्य र सुरक्षा अहिलको आवश्यकता : त्यसपछिमात्रै विकास प्राथमिकता’ भन्ने उद्देश्यका साथ महानगरले कोरोना नियन्त्रण र उपचारका लागि केन्द्रित भएर काम गरेको प्रमुख महर्जनले बताए ।
उनले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकको सहयोगमा पनि महनगर जुटेको उल्लेख गरे । उनले कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पाालना गर्न पनि आग्रह गरे ।