मकवानपुर हाँडीखोला गाविसको भित्री जङ्गल छेउमा बस्ने अति सीमान्तकृत एवम् लोपोन्मुख जाति वनकरियाले राज्यसँग जमिनको माग गरेका छन् । गएको साउन ४ र ५ गते नयाँ संविधानको मस्यौदामाथि भएको देशैभरको सुझाव सङ्कलबारे बेखबर रहेका वनकरिया जातिले सरकार र राजनीतिक दलसँग जमिन उपलब्ध गराइदिन माग गरेका हुन् ।
आफूहरुको समस्या सुन्न धेरै जना आएको भए पनि कसैले पनि माग पूरा नगरेको गुनासो गर्दै ५० वर्षीया सन्तमायाँ वनकरियाले आफूहरुको यो खबर सरकारलाई भनिदिन आग्रहसमेत गर्नुभयो ।
“तपार्इं पत्रकार, माथि पुग्न सक्नुहुन्छ,” सन्तमायाँले भन्नुभयो – हामीहरुलाई सुरक्षित घर र लालपुर्जा चाहियो, यो खबर जसरी पनि भन्दिनू ।” उहाँले भन्नुभयो – “नेता भोट माग्न आयो । रु एक हजार भत्ताको रु दुई हजार गराइदिन्छौँ भन्यो । अहिले फर्केर पनि आएन । प्रधानमन्त्री बाबुराम भट्टराईले भने २० वर्षको कबुलियत जग्गा ४० वर्ष थप बनाए रे ।” उनीहरुका लागि घर निर्माण गर्न भनेर आएको रु २० लाखसमेत स्थान अभावले फ्रिज हुन पुगेको छ ।
बत्तीस वर्षीय सुरेश वनकरियाले ‘यो माटो मेरो पनि हो’ भनेरसमेत भन्न नपाएको बताउनुभयो । भएको जागिरसमेत राज्यले खोसेको उहाँको दुःखेसो छ ।
आफूहरुको नाउँमा केही जग्गा दिए त्योभन्दा ठूलो गुन अरु केही नहुने सुरेशको भनाइ छ । मासिक भत्ता पाउँदै आएका सुरेशले भन्नुभयो – “भत्ता भएर के भो, आफ्नो माटो छैन ।”
उनीहरुले भूकम्पपछिको राहत वितरणमा समेत विभेद गरिएको आरोप लगाएका छन् । “धनीमानीले नबिग्रेको घरको पनि पैसा लिए, हाम्लाई खै ?,” सन्तमायाँले भन्नुभयो – धनीमानीको घरचाहिँ सबै राखे, हाम्रो जम्मा दुई घरमात्रै छ ।”
उहाँले घरका लागि आएको रकमसमेत फिर्ता लगेको भन्दै आक्रोशसमेत पोख्नुभयो । सरकारले दिएको सहयोग पाउनुपर्ने उहाँको माग छ । भूकम्पले क्षति पुगेको भनेर दुई घरको नाम लेखेर लगिएपनि त्यही घरमा अहिलेसम्म राहत नपुगेको उनीहरुले बताए ।
दिनभरका गतिविधि ढल्केको घरमा हुन्छ र राति त्रिपालमुनि आश्रय लिन पुग्नुहुन्छ भूकम्पपीडित लालबहादुर वनकरिया ।
स्थानीय वृद्ध लालबहादुर श्रीमती च्यान्टीमायाँका साथ अहिले पनि दाताले दिएको त्रिपालमुनि सुत्नुहुन्छ । पानी पर्दा चुहिन्छ । खुइलिएर त्रिपाल सेतो प्लास्टिक बनिसकेको छ ।
अहिलेसम्म राज्यबाट पाउने रकम नपाएको उहाँले बताउनुभयो । “केही हुन्छ कि भनेर ज्वाईं गा’छ, गाविसमा,” त्रिपालमुनि भेटिनुभएका उहाँले भन्नुभयो । ज्वाईं छोरीसँगै बस्दै आउनुभएका वृद्ध दम्पती वल्लो त्रिपालमा र छोरी ज्वाईं पल्लो त्रिपालमुनि सुत्ने गरेको स्थानीयवासीले बताए ।
लालबहादुरका अनुसार ९० सालको भूकम्पमा उहाँ १० वर्षको हुनुहुन्थ्यो । पर्सा वन्यजन्तु आरक्षमा पर्ने भैँसिखोल भन्ने स्थानमा वनकरिया बस्थे । उनीहरुमा तरुल गिठा खाने, कुरिलोका जरा खोज्ने, खरेटा बनाउने र ठेकेदारलाई बुझाउने चलन थियो । ठेकेदारले ‘जे जति दियो त्यसैमा चित्त बुझाउने’ गरिएको लालबाबुले बताउनुभयो ।
दिनभर जङ्गलमा काम गर्ने र राति भएपछि वनकेराका पात छापेर बनाएको झुप्रोमा रात काट्ने चलन थियो । विसं २०३०÷३२ तिर एक दिन खरेटो खोजेर फर्कंदै गर्दा भालुले आक्रमण ग¥यो । “दाहिने आँखा चिथोरेर लगेछ, हँसियाले हान्दा मुखमा लागेछ र बाँचियो,” उहाँले सम्झँदै भन्नुभयो – “आत्तिने भा’ त मार्ने नि ।”
विसं २०६२ मा उनीहरुलाई मकवानपुर हाँडीखोला– ७ स्थित मुसेधापमा सरकारले कबुलियतमा राखेपछि ती सबै अहिले विगत बने । तर अहिलेसम्म आफ्नो जमिन नहुँदा उहाँलाई पनि पीडा छ । “जग्गा दियो भनेको त कबुलियती जग्गा दिएछ,” उहाँले भन्नुभयो । सन्तमायाँ उबेला जग्गा दियो भनेर खुसी भए पनि अहिले भने जग्गा नपाउँदा साँच्चै दुःखी हुनुहुन्छ ।
बरु ऐलानी जग्गा दिएको भए अहिलेसम्म पुर्जा आउन सक्ने उनीहरुको भनाइ छ । अर्का सोमलाल वनकरियाले भन्नुभयो, “हामीलाई जग्गा दिए, त्यसैमा गरिखाने थियौँ ।”
मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया जग्गा नहुनाले घर बनाउन नसकिएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “कबुलियत वनमा बसेका छन्, त्यहाँ घर बनाउन मिल्दैन । अन्यत्र सहरी विकास मन्त्रालयबाट जग्गा उपलब्ध भएन । अनि घरका लागि आएको रु २० लाख रकम फ्रिज हुनपुग्यो ।”

यसरी सरेका थिए वनकरिया
वन ऐन, २०४९ र नियमावली, २०५१ को अधीनमा रही राष्ट्रिय वन क्षेत्रमा स्वीकृत कार्ययोजनाअनुसार उनीहरुलाई २० वर्षे कबोलमा सो क्षेत्र दिइएको हो । वन ऐन, २०४९ को दफा ३१ अनुसार वृक्षरोपण गर्ने र वन पैदावार उत्पादन वृद्धि गरी बिक्री वितरण वा उपयोग गर्ने उद्देश्यका लागि कबुलियत वनको पट्टा दिइएको भनेर मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयले उनीहरुलाई पत्र दिएको छ ।
गाउँलाई ‘क’ र ‘ख’ समूहमा बाँडिएको छ । वनकरिया कबुलियती वन भनेर २०६२ साल कात्तिक ३ गते पट्टा बनेको र २०६२ साल चैत २८ गतेदेखि २० वर्षका लागि दिइएको हो । पूर्वमा वनकरिया बस्तीको धाप, पश्चिम र उत्तर ट्वाङ्ग्रा खोला, दक्षिण पानीट्याङ्की छ ।
यो ठाउँ पूर्वपश्चिम राजमार्गबाट एक घन्टा हिँडेर पुग्न सकिन्छ । वर्षात्का बेला बाटोमा खोलो हिँड्छ । विभिन्न रोपनी छुट्याएर घाँस र रुख बिरुवा लगाइने पत्रमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गस्थित हेटौँडा उपमहानगर–२९ को सान्नानीटारबाट राप्ती तरेर जानुपर्छ वनकरिया बस्ती । दुई समूहलाई तीन÷तीन हेक्टरका दरले छ हेक्टर जमिन दिइएको छ ।
विसं २०६२ मा १२ परिवारका ३९ वना वनकरिया रहेकामा अहिले जनसङ्ख्या बढेर ७७ जना पुगेको छ । त्यसमध्ये महिला ३९ जना पुगेको गाविस सहायक विदुर पाठकले बताउनुभयो । कक्षा ५ सम्म पढ्नेमा सातजना भएकामा अहिले ५ सम्म पढ्ने धेरै बढेका छन् । एकजना ९ र एकजना १० कक्षासम्म पुगेको स्थानीयवासीले बताए ।
जन्मदर्ता भएपछि उनीहरुलाई सरकारले मासिक रु एक हजार भत्ता दिन्छ । यही भत्ताले जीवन चलाउँदै आएका वनकरियाहरु ज्याला मजदुरी, माछा मार्ने र आफ्नो कबुलियतमा आएको एक–दुई कट्ठा जग्गाको उब्जनीबाट जीवन गुजारा गर्दै आएका छन् ।

सुरेश भन्नुहुन्छ, खोसिएको जागिर देउ
कक्षा ३ सम्म पढेका सुरेश वनकरिया २०६४ सालसम्म स्थानीय गाविसमा कार्यालय सहयोगी हुनुहुन्थ्यो ।
त्यो बेला उहाँलाई मासिक रु पाँच हजार प्राप्त हुन्थ्यो । विसं २०६४ सालअघि छ वर्षसम्म उहाँले काम गर्नुभयो । नेपाली र अङ्ग्रेजी भाषामा नागरिकता फारम भर्न पनि आउँथ्यो । विसं २०६४ सालको त्यो समयमा सरकारले कम्प्युटर जान्नुपर्ने नीति ल्यायो । त्यसका लागि पढेको प्रमाणपत्र पेस गर्नुपर्नेमा उहाँको भएन ।
मार्कसिट नभएपछि आफूलाई निकालिएको उहाँले बताउनुभयो । कम्प्युटर जान्नुपर्ने भएपछि आफूले छाड्नुपरेको र कतै जागिर मिलाइदिए खाने उहाँ बताउनुहुन्छ । अहिले पनि राजीनामा गर्न भनिरहे पनि आफूले नदिएको उहाँको भनाइ छ ।
‘मलाई कि पहिलेकै जागिर देउ, हैन भने अर्काे ठाउँमा जागिर देउ’ भनेर आफूले माग गर्दै आएपनि नपाएको सुरेश बताउनुहुन्छ ।
हामीहरुलाई घरघरै जागिर दिनुपर्नेमा उल्टो निकालिदिएको उहाँको गुनासो छ । युवा वर्गलाई सरकारले नै रोजगार दिनुपर्ने उनीहरु बताउँछन् ।