काठमाडौं : राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । एमालेतर्फ चन्द्रबहादुर खड्का र नेपाली काँग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका दीर्घनारायण पाण्डे मैदानमा छन् ।
निर्वाचन आयोगका अनुसार सोमवार बिहान ९ बजेबाट ३ बजेसम्म मतदान हुने छ भने मतदान सकिए लगत्तै मत गणना शुरु हुने छ । मतगणना शुरु भएको एक घण्टामै परिणाम आउने आयोगको अनुमान छ ।
मतदान भने दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने छ । मतदानका लागि तीनवटा मतदान केन्द्र बनाइएको छ ।
निर्वाचनमा प्रदेश सभातर्फका ७९ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता छन् ।
माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो । प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाइने छ ।
निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । प्रदेशका ७९ प्रदेशसभा सदस्यको तीन हजार ७९२ र स्थानीय तहका २१७ जनप्रतिनिधिको ३ हजार ९ सय ६ गरी जम्मा ७ हजार ६९८ मत छ ।
प्रदेशका १०९ स्थानीय तहमध्ये पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परेर मृत्यु भएपछि रिक्त छ । राष्ट्रिय सभामा दुई जना मात्र उम्मेदवार भएकाले ३ हजार ८ सय ५० मत ल्याउने उम्मेदवार निर्वाचित हुनेछन् । ८७ सदस्यीय प्रदेशसभाका ७९ जनाले मात्रै मतदान गर्न पाउनेछन् । अन्य ८ जना भने विभिन्न दलबाट कारबाहीमा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् ।
सर्वोच्च अदालतले प्रदेशसभा सदस्यामा यथावत राखेका जनता समाजवादी पार्टीका ४ प्रदेशसभा सदस्यले पनि मतदान गर्न पाउने छैनन् । यस्तै माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पनि पार्टीको कारबाहीमा परेर पदमुक्त भएका छन् । एमालेकै सांसद अमरबहादुर डांगीले पदबाट राजीनामा दिएका छन् भने राष्ट्रिय सभाका उम्मेदवार पाण्डे स्वयं प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका हुन् ।