काठमाडौं : काम चलाउ सरकारले अध्यादेशबाट ल्याएको बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनले निष्कर्ष निकालेको छ । सरकारको कदमविरूद्ध उत्रनका लागि राजनीति दल, नागरिक समाज तथा आम नागरिकलाई पाँच दलका तर्फबाट संयुक्तरूपमा आपिल गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पाँच दलको बैठकले सरकारलाई दीर्घकालिन असर पार्ने कुनै पनि निर्णय नगर्न चेतावनी दिएको छ । सरकारले मनपरी ढंगबाट बजेट ल्याएको र स्वेच्छाकारी ढंगले चलेको गएकाले कोरोनाको कहरबाट सुरक्षित हुँदै भौतिक रुपमा नै सशक्त प्रतिकारमा उत्रने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
बैठकले आफनो असंवैधानिक कदमका विरुद्ध सडक प्रदर्शन हुने डरले प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई कडा बनाएको निष्कर्ष समेत निकालेको छ । कोराना महामारी नियन्त्रण र रोकथामका अन्य उपाय अबलम्बन नगरी नागरिक अधिकार कुण्ठित पार्ने गरी सरकारले निषेधाज्ञमा मात्रै जोड दिएको विपक्षी गठबन्धनको ठहर छ । सरकारले असंवैधानिक ढंगले चालेको कदमको राजनीति प्रतिवाद कसरी गर्नेबारे छलफल भएको माओवादी केन्द्रका नेता देव गुरूङले जानकारी दिए ।
बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता ज्ञानेन्द्र बहादुर कार्की सहभागी थिए । नेकपा एमालेको नेपाल समूहबाट वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावलको सहभागिता थिए । यस्तै, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, कृष्ण बहादुर महरा र देव गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल पनि सहभागी थिइन् ।