काठमाडौं : संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपतिसमक्ष बहुमत प्रस्तुत गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने र विघटित प्रतिनिधि सभा पुनःस्थापना गरिनुपर्ने माग गर्दै १४६ सांसदले सर्वाेच्च अदालतमा हालेको रिटमा आज संवैधानिक इजलासमा बहस हुँदैछ ।
गत शुक्रबार नियमित संवैधानिक इजलासमा संसद् विघटन सम्बन्धमा परेका ८ रिटमा बहस हुँदाहुँदै न्यायाधीश बमकुमार श्रेष्ठप्रति प्रश्न उठाइएपछि बहस रोकिएको थियो ।
आज शुरुमै विपक्षी दलबाट दर्ता रिटमा बहस हुने सर्वाेच्च अदालतले जनाएको छ । विपक्षी दलहरूले दायर गरेको रिटमा मन्त्रिपरिषद्को सिफारिसमा कात्तिक २६ गते र मंसिर ३ गतेका लागि राष्ट्रपतिद्वारा घोषित निर्वाचन तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश माग गरिएको छ ।
निर्वाचन आयोगलाई कुनै पनि चुनावी गतिविधि नगर्न र निर्वाचनसम्बन्धी कार्यक्रमसमेत प्रकाशन नगर्न अन्तरिम आदेश माग गरिएको छ । बहुमत सदस्यको समर्थन प्राप्त प्रतिनिधि सभाका सदस्य शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्ति गर्न र विश्वासको मत लिने प्रबन्ध मिलाउन पनि आदेश माग गरिएको छ ।