काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार र चरित्र लोकतान्त्रिक गणतन्त्रअनुकूल नभएकाले देशले दुष्परिणाम भोग्नुपरेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै उनले कुनै पनि प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुनेमा जोड दिएका छन् ।

सभापति देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गरी समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्  ।

सभापति देउवाले कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको अवस्थामा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि सबैलाई आग्रह गरेका छन् ।  

पूर्वप्रधानमन्त्री देउवाले नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनान्दोलन २०६२/६३ को सफलतापछि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको जनाउँदै  लोकतन्त्रको स्थापना र पुनःस्थापनाका जनान्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सबै शहीदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना प्रकट गरेका छन् ।