चौधौँ गणतन्त्र दिवस मनाइँदै

काठमाडौं : मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष पुगेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा आज गणतन्त्र दिवस मनाइँदै छ ।
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको हाे ।
तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।
चार सय ३० को कैद मिनाहा
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औँ गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन् ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएकी राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।