काठमाडौं : चार पूर्वप्रधानन्यायाधीशहरुले पुनः प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतको फैसला विपरीतको कार्य भएको बताएका छन् ।
शुक्रबार पूर्वप्रधानन्यायाधीहरुको समूहको तर्फबाट विज्ञप्ति जारी गर्दै उनीहरुले प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ भइरहेको भन्दै अब संविधान नै समाप्त हुने खतरा बढेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘…धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरु संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरित दिशा तर्फ संविधान कार्यान्वयन भइरहेको आभास हुन्छ । यसले संविधान नै समाप्त हुने खतरा बढेर गएको छ ।’
उनीहरुले सर्वोच्चको फैसलाले दिएको परिणाम कसैको स्वार्थको खातिर निरर्थक तुल्याएको टिप्पणी गरेका छन् ।
यसबाट कानुनको सर्वोच्चताको सिद्धान्त नमान्ने र कानून प्रभावहीन हुने गम्भीर स्थिति खडा भएको उनीहरुले बताएका छन् ।
पूर्वप्रधानन्याधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले जारी गरेको विज्ञप्ति लोकतन्त्रको लागि यस्तो स्थिति खतरनाक हुने उल्लेख छ ।
अर्कोतिर प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि कानुन बमोजिम पदमा बहाल रहन अयोग्यता सिर्जना भई पदमुक्त हुने संवैधानिक प्रावधान भए पनि पदमा रहिरहने परिस्थिति तर्जुमा गर्ने कोसिस भएको उनीहरुको तर्क छ ।
कोरोना महामारी, जनताको असामान्य र कष्टप्रद दैनिकीसहितको जीवनको माझमा भरपर्दो र नियमित सरकारद्वारा विभिन्न समस्याहरुको सम्बोधन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा धारा ७६ को प्रयोगको सम्बन्धमा भएका अभ्यासहरु संविधानको भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भएको उनीहरुले बताएका छन् ।