काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो ।
इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखिएको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश सहित ५ जना न्यायाधीश रहने व्यवस्था छ ।
प्रधानन्यायाधीशले आफूसहित रोष्टरमा रहेका वरिष्ठ न्यायाधीश मध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्था छ । तर उनले आफूपछिका वरिष्ठ न्यायाधीश कार्कीलाई राखे पनि अन्य तीन जना भने कनिष्ठ न्यायाधीश इजलासमा परेका छन् ।
त्यस्तै प्रधानन्यायाधीश राणले नेकपालाई एकीकरण पूर्वको अवस्थामा पुर्याइदिने न्यायाधीश बम बहादुर श्रेष्ठलाई पनि इजलासमा राखेका छन् ।
न्यायाधीश कुमार रेग्मी र श्रेष्ठको इजलासले गत फागुन २३ गते नेकपालाई विघटन गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँत्याइदिएको थियो । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा शुक्रवारबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।
बिहीबार प्रधान न्यायाधीशको एकल बेन्चले १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।
त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गर्दै थप ११ वटा रिट दर्ता भएका छन् । विघटनविरुद्ध परेका ३० वटै रिट उपर संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । रिट, निवेदकले तत्कालिन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् ।