काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका १५ स्थायी कमिटी सदस्यले वामपन्थी र लोकतन्त्रवादी शक्तिको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

बुधबार स्थायी कमिटीका १५ सदस्यले सामूहिक वक्तव्य जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरूका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएका हुन् ।

यसका लागि तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर रहेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा आह्वान गरिएको छ ।

राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवं जनसमुदायमा प्रधानमन्त्री ओलीका निरंकुश र प्रतिगामी कामकारबाहीका विरुद्ध एकता र सहकार्यका साथ अग्रसर हुन आग्रह गर्दछौँ वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा सर्वोच्च अदालतमा रिट दायर गर्दा सहभागी नभएका योगेश भट्टराई र गोकर्ण विष्टको समेत हस्ताक्षर रहेको छ ।