काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् ।
मंगलबार कूटनीतिक माध्यमबाट पत्राचार गर्दै खोप उपलब्ध गराउने पहलका लागि आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पत्रमा भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद समेत दिइको छ ।
राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउने कार्यका लागि पहल गरिदिन भारीय राष्ट्रपतिलाई पत्राचार गरेको बताइएको छ ।
नेपालमा मंगलबारसम्म २१ लाख १३ हजार जनाले पहिलो डोज खोप लगाएर दोस्रो डोजको प्रतिक्षामा छन् ।
भारतले यसअघि २० लाख डोज कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराइसकेको छ । बाँकी दश लाख डोज खोप आउन बाँकी छ ।
सिरम इष्टिच्युटले वर्ष २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने भनेपछि नेपालले राष्ट्रपतिमार्फत विशेष पहल गरेको हो ।
राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई पठाएको पत्रमा भारतमा महामारीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरिएको छ । त्यस्तै महामारीविरुद्ध आपसी सहकार्य गर्दै मिलेर लड्न आग्रह समेत गरिएको छ ।