एजेन्सी : भारतमा पहिलोपटक पुष्टि भएको संक्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोड–एस्ट्राजेनेकाका कोरोना भाइरसविरुद्धका खोप प्रभावकारी देखिएको छ ।

कोरोनाविरुद्धको खोपको दुई मात्रा नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको एक अध्ययनले देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि पाइएको बेलायती स्वास्थ्य अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

पब्लिक हेल्थ इंग्ल्याण्डले गरेको अध्ययनमा फाइजर–बायोएनटेकको खोप भारतमा देखिएको कोरोना भाइरसको बी १.६१७.२ भेरियन्टमा दोस्रो मात्रा लगाएको दुई हप्तापछि लक्षणसहितको संक्रमणविरुद्ध ८८ प्रतिशत प्रभावकारिता देखिएको हो ।

बेलायतमा देखिएको बी.१.१.७ भेरियन्टविरुद्ध यो प्रभावकारिता ९३ प्रतिशत थियो । यस्तै एस्ट्राजेनेका खोपको दुई मात्रा भारतमा देखिएको भेरियन्टबाट हुने लक्षणसहितको संक्रमणविरुद्ध ६० प्रतिशत प्रभावकारी देखिएको छ ।

यो प्रभावकारिता बेलायतमा देखिएको भेरियन्टमा ६६ प्रतिशत रहेको पिएचइले जनाएको छ ।