बेलायतको सदनमा नेपाललाई कोभिडविरुद्ध सहयोग गर्नेबारे बहस
काठमाडौं : बेलायतको उपल्लो सदन हाउस अफ लर्ड्समा नेपाललाई कोभिडविरुद्ध सहयोग गर्नेबारे बहस भएको छ ।
बहसमा सदनका सदस्यहरूले तत्काल नेपाललाई कोभिड बिरुद्ध सहयोग गर्न माग गरेका थिए ।
बहसमा लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले भाइरसविरुद्ध लड्न नेपाल सरकारले २० लाख खोप उपलब्ध गराउन ब्रिटेनसँग गरेको आग्रहबारे जिज्ञासा राखेका थिए ।
उनले दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटेनको हरेक द्वन्द्व र संकटमा नेपालीहरूले ज्यानको आहुति दिएको स्मरण गर्दै नेपालमा संकटको बेला सहयोग गर्नुपर्ने बताएका थिए ।
लन्डनस्थित नेपाली दूतावासले यसअघि नै बेलायत सरकारसँग सहायताका लागि आग्रह गरिसकेको छ ।
बेलायतको नेपाली समुदाय पनि नेपालमा सहयोग पठाउन जुटिरहेको छ । एनआरएनए यूकेले नेपालमा एक सयवटा अक्सिजन कन्सन्ट्रेटर उपकरण पठाउने तयारी भइरहेको जनाएको छ ।