वीरेन्द्र रावल, धनगढी, कैलाली

वीरेन्द्र रावल

हाम्रा बुढा पाका हजुर आमा र हजुर बाले त्यसै अर्ति दिएका रहेन छन् की अनिकालमा बिउ जोगाउनु र हुलफालमा ज्यू (परान)जोगाउनु भनेर । हाम्रा पुर्खाहरुले विभिन्न कालखण्डमा आफुले भोगेका र परापुर्वकालदेखि मानिसहरुले सामना गर्दै आएका विभिन्न समस्याको समाधान पनि उनिहरुले परम्परागत अनि प्राकृतिक रुपमा गर्दै आएपनि ।
तत्कालिन अवस्थामा विज्ञान र प्रविधिको कुनैपनि विकास नभैसकेको अवस्थामा मानिसहरुले कुनै रोग व्याधी लागि हाल्यो भनेपनि त्यसको उपचार प्राकृतिक रुपमा खोजिन्थ्यो । वन जंगल र हिमालमा पाईने विभिन्न जडिबुटीको अध्ययन,अनुसन्धान गर्ने र विरामी परेका मानिसहरुलाई प्रयोग गर्ने पद्धति थियो त्यो बेला । अँझैपनि गाउँ घरमा बुढापाकाहरुले जंगली जडिबुटीको नियमित प्रयोग गर्ने परम्परा कायमै छ ।
कतिपय झारफुक गर्ने परम्परा पनि अँझै गाउँघरहरुमा कायमै रहेको पाईन्छ । विगत एक सय बर्ष पहिले नेपालमा बिद्यमान धार्मिक,साँस्कृतिक एवं परम्परागत चाल चलनमा केहि हदसम्म कमि भने अवश्यपनि आएको छ ।
नेपालमा प्रजातन्त्र आई सकेपछि केहि कुराहरुमा व्यापक परिवर्तन भने अवश्यपनि आएको छ ।
गाउँघरमा स्वास्थ्य चौकिको स्थापना,अस्पताल देखि लिएर अन्य सुविधाहरुपनि थपिदै गएका छन् । हाम्रा पुर्खाहरुले तत्कालिन अवस्थामा विरामी पर्दा अस्पतालको नाम समेत देख्न पाएनन् । तत्कालिन अवस्थामा स्वास्थ्य चौकि र डाक्टर भनेकानै धामी,झाँक्री,गुरुवा,बैद्य देखि लिएर जंगलका औषधी मात्र उपलब्ध हुन्थ्यो ।
मानिसहरुले त्यहि परम्परागत उपचार र औषधीको भरमा पर्नु पर्ने अवस्था हाल आएर हराएको भएतापनि केहि केहि स्थानहरुमा भने अँझैपनि अवशेषका रुपमा देख्न पाईन्छ ।
हाम्रा पुर्खाहरु कम्तीमा पनि ९० देखि १ सय बर्ष सम्म बाँच्ने गर्दथे । त्यतिबेलाको वातावरण खासै प्रदुषित पनि थिएन । मानिसहरु प्राकृति एवं वातावरणीय रुपमा निकै मजवुत हुन्थे । खान पाना आहार व्यहार आज भन्दा सयौं गुणा हितकारी थियो तत्कालिन अवस्थामा । मानिसहरुले आफ्नै बारीमा उत्पादन भएका तरकारी,अन्न,फलफुल देखि लिएर जडिबुटीको प्रयोग गर्ने गर्दर्थे । स्वस्थ खानपान,आहार विहार देखि लिएर शारिरिक कसरतका कारण पनि मानिसहरु तत्कालिन अवस्थामा निरोगी हुन्थे । पछिल्लो समयमा नेपालमा विदेशबाट आयातित फलफुल,बिषादीयुक्त तरकारी,माछा मासु देखि लिएर दैनिक जीवनमा उपयोग हुने खाद्य पदार्थहरु समेत मिसावट हुने गरेका कारण पनि मानव स्वास्थ्यमा नराम्रो असर पुग्ने र विभिन्न प्रकारका रोगब्याधीहरु लाग्ने समस्याहरु बढ्दै जानपनि थालेका छन् ।
बुढापाकाहरुले कलियुगमा के के देख्न पाईने हो ,मानिसले मानिसको आहार गर्ने बेला समेत आउन बेर छैन । परम्परा नाँसिदै जाने र आधुनिकताका नाममा सबै प्राकृतिक एवं वातावरणीय रुपमा मानव जीवन स्खलित हुँदै जानेछ भनेर भनेका कुराहरु यति बेला लागु भैरहेका पनि छन् ।
पुर्खाहरुले भोगेका अतितका व्याथा,पिडा,समस्या अनि भोगाईहरुको संगालोनै उनिहरुले दिने अर्ति र उपदेशनै थिए । तीं अर्ति र उपदेशलाई आजको युवाजमातले व्यवास्था गर्दै हिड्न थाल्यो । आधुनिकताका नाममा परम्परागत अनि वैज्ञानिक तथ्यलाई अस्वीकार गर्दै विज्ञानका कतिपय बेमेल खाने कुराहरुलाई परम्परागत कुराहले छेकबार लगाएको छ भन्ने खालका कुतर्कहरु अघि सारेर विज्ञानको पछि लाग्ने हाम्रो युवा जमातका लागि पुर्खाहरुले दिएका अर्तिको अनुशरण नगर्दानै आज नेपालीहरुले दुःख खेप्नुपरिरहेको छ ।
नेपाली समाजको आफ्नै विशिष्ठता थियो विगतमा । विगतको नेपाली समाज आफैमा पनि उन्नत थियो । त्यहि समाज भित्र बस्ने हरेक नेपालीमा एकता,सद्भाव,भाईचारा अनि एकले अर्कोको पिडामा साथ र सहयोग दिने नैतिक धरातल पनि थियो । आज तीं सबै एक पछि अर्कोगरी विलिन हुँदै जान थालेका पनि छन् ।
नेपाली पनमा आएको गिरावटले नेपाली समाज आज विरानो बन्दै जान थालेको छ । नेपाली सभ्यता,परम्परा अनि साँस्कृतिक एकतामा वैदेशिक प्रभाव पर्दै जान थालेका कारण पनि आज नेपाली मन र पनमा अमिलो मिश्रण देखा पर्दै जान थालेको छ ।
नेपाली समाजको परम्परागत रितीरिवाज,चाल चलन र वैज्ञानिकतामा बैदेशिक संस्कृति हावी हुँदै जान थालेपछि त्यसले नेपाली समाजलाई अधोगतितर्फ धकेलिरहेको छ ।
हाम्रा पुर्खाहरुले वैज्ञानिकरुपमा विभिन्न प्रकारका अर्ति उपदेशहरु छोडेर गएका छन् । विभिन्न विपद्,हैजा,दादुरा,विफर,टाईफाईड,औलो जस्ता रोगहरुबाट थुप्रै पुर्खाहरुले ज्यान समेत गुमाएका थिए । त्यहि भोगाई र अनुभवलाई आधार बनाएर नेपाली पुर्खाहरुले भावि सन्ततिका लागि बेला बखत अतितका तिता अनुभूती र आफुले भोगेका विपतका बारेमा अर्तिको रुपमा जानकारी दिने, साँझको खाना पश्चात वल्लो पल्लो घरका मानिसहरु एकै ठाँउमा जम्मा भएर बात हाल्ने( अतितका कथाहरु भन्ने) परम्परा पनि थियो । यति बेला त्यस्ता अवसरहरुबाट आजको युवा पिंढी पुर्ण रुपले बन्चित छन् ।
पुराना मानिसहरु विस्तारै घट्दै जान थालेपछि परम्परागत कथा,बचन र बाणीहरु पस्कने स्रोतपनि घट्दै जान थालेको छ । आजको युवा पिढीले पुराना अर्ति उपदेश सिक्नु त परै जाओस् आफ्नो कला र संस्कृति के कस्तो छ वा थियो भनेर अव अरुबाटनै सोधी खोजीको बिषय बनाउनु पर्ने अवस्था आई सकेको छ ।
हाम्रा पुर्खाहरुले भावि सन्ततिका लागि भनेर जून अर्ति र उपदेशहरु छोडेर गएका छन् त्यसको अक्षरसः पालना गर्ने तप्काको पनि नेपालमा कमि हुन थालेको छ । पुर्खाहरुले बेला बखत विभिन्न कालखण्डमा दिएका अर्तिहरुको पालना गर्ने र त्यति अर्तिलाई जीवनमा कानुन बनाएर पालना गर्दै जाने दिसामा आजको युवा पंक्तिले सोच विचार गर्न नितान्त जरुरी देखिन्छ ।
पुर्खाहरुले आज्र्याको मूलुक अनि यो मुलुकको भाग्य र भविश्यका बारेमा पनि उनिहरुले सोचेका र पोखेका दिव्यबचनहरुको सहिरुपले जीवनमा लागु गर्ने दिसामा आजको नेपाली समाजले नैतिकता सोचेर कार्यान्वयन गर्न सक्ने हो भनेपनि नेपाली समाजले विगतका सकरात्मक पक्षबाट धेरै लाभ लिन सक्ने सम्भावना रहन्छ ।