बर्दघाटमा बस दुर्घटना, ४ जनाको मृत्यु

0

नवलपरासी : काठमाडौंबाट रुकुम पश्चिमका लागि यात्रु लिएर जाँदै गरेको बस नवलपरासीको बर्दघाट-दाउन्ने सडकखण्डमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ यात्रु घाइते भएका छन् ।

निषेधाज्ञाका क्रममा काठमाडौंमा रहेका रुकुम पश्चिम यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित दाउन्ने पहाडको खुर्सानी खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन र सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती रहेका छन् । अन्य २ को सनाखत हुन सकेको छैन ।

बस पहाडबाट १ सय ५० मिटर तल खसेको हो । एकजना बसमै च्यापिएको अवस्थामा रहेकाले क्रेन बोलाएर निकाल्ने प्रयास भइरहेको छ ।

बसलाई रुखले अड्काएका कारण मानवीय क्षति बढी हुन नपाएको प्रहरीले जनाएको छ । घाइते सबैको अहिले चिसापानी अस्पताल बर्दघाटमा उपचारका लागि पठाइएको छ । बसमा ५८ जना यात्रु सवार थिए ।

Leave A Reply

Your email address will not be published.