काठमाडौं : पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलले अविश्वास, असहयोग, अन्तरविरोध हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई अनुरोध गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको कार्यदल बैठकले पार्टीमा एकता र समझदारी वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग, अन्तरविरोध हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरिएको माधव कुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।

रावलले पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुने अवस्थालाई नै अन्त्य गरि एकताको सन्देश दिनुपर्ने धारणा राखे ।

त्यस्तै बैठकले कार्यदलको कार्यविधि, कार्यसूची र आचारसंहिता तयार गरेर तल्काल लागू गर्ने निर्णय गरिएको रावलले बताए ।

बैठकपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संदस्य प्रदीप ज्ञवालीले अविश्वास र अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई अपिल गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकमा कार्यव्यस्तता भन्दै विष्णु पौडेल र शंकर पोखरेल अनुपस्थित रहेका थिए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार दुवै पक्षबाट पाँच–पाँचजना सदस्य रहेको कार्यदल बनाउने सहमति भएको थियो ।

कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

यस्तै नेता नेपालको तर्फबाट भीम रावलको संयोजकत्वमा गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन् । नेकपा भंग भएपछि पार्टी एकता पूर्वको अवस्था अर्थात २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भद्र सहमतिपछि त्यसको कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो ।