काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले पुनः सपथ गराउन माग गर्दै रिट निवेदन दिएका हुन् ।
आइतबार प्रशासनिक प्रक्रिया पूरा भए पनि समय अभावका कारण निवेदन दर्ता सोमबार मात्रै हुने छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न इन्कार गरेका थिए । राष्ट्रपतिले सो शब्द दोहोर्याउँदा समेत ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । यस बिषयमा अधिवक्ताहरुले संवैधानिक प्रश्न उठाउँदै रिट निवेदन दिएका हुन् ।
यसैगरी सांसद नभएका ७ जनालाई प्रधानमन्त्री ओलीले पुनः मन्त्री नियुक्त गरेका भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । रिटमा प्रधानमन्त्रीले पटक–पटक सांसद नरहेका व्यक्तिलाई नै मन्त्रीमा नियुक्त गरेको भन्दै बदर गर्न माग गरिएको गरिएको छ ।
संविधानको धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति बढीमा ६ महिनासम्म मन्त्री हुन पाउने र त्यो अवधिमा सांसद नभएमा स्वतः पदमुक्त हुने व्यवस्था छ ।