काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामाग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि बालुवाटारमा सरोकारवाला निकायसँगको छलफलका क्रममा उनले सामाग्री खरिदका क्रममा भ्रष्टाचारको कुरा उठेको भन्दै भ्रष्टाचार गर्ने कसैलाई पनि नछाडिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अक्सिजन आयातको सवै व्यवस्था मिलाउन र नेपालमा पनि उत्पादनका साथै सहज वितरण गर्न निर्देशन दिए । उनले सावधानी नअपनाएका कारण नै नेपालमा दोश्रो चरणको कोरोना महामारी फैलिएको धारणा राखे ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी न्युनिकरण र नियन्त्रणका लागि सरकार गम्भीर रहेको र यसमा सबै सरोकारवालाहरुको सहभागिता आवश्यक भएको जिकिर गरे ।

उनले सरकारी संयन्त्रबीच नै समन्वयको अभाव देखिएको र यसको प्रभाव कोरोना उपचारमा देखिएको उल्लेख गरे । उनले कोरोना रोकथाममा गरेका सरकारी प्रयासलाई नकारात्मक रुपमा टिप्पणी र भ्रम नछर्न आग्रह गरे । सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण तथा रोकथाममा केन्द्रित रहेको उहाको भनाइ थियो ।

छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहित सहभागी थिए । उनीहरुले कोरोना नियन्त्रण र उपचारका लागि सुझाव पनि दिएका छिन् । सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने प्रधानमन्त्री ओलीले बताए ।