काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीविरुद्ध सम्पूर्ण शक्ति लगाउन आग्रह गरेका छन् ।

थापाले सामाजिक संजालमा भिडियो पोष्ट गर्दै कोरोना महामारीबाट धेरै जीवन गुमाइसकेकाले अबको केही दिन सबैथोक छोडेर मानव जीवन रक्षाका लागि लाग्न आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यू, फेरि एकपटक मौका पाउनुभएको छ । अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन, ध्यान, शक्ति, ऊर्जा, संयन्त्र सबै महामारीसँग जुध्न लगाउनुहोस्, उनले भनेका छन्, “हामी पनि अबको केही समय तपाईंसँगका सबै असहमतिलाई बिसाएर जनताको जीवनरक्षा गर्न तपाईँको साथमा उभिनेछौँ ।’

‘अहिले पार्टीभित्रको विवाद मिलाउन, चर्काउन, फकाउन छाडिदिनुस् । केही दिनलाई सभा सम्मेलन, भेटघाट, उद्घाटन शिलान्यास सबै छाडिदिनुस् । केही दिनलाई बोल्न बन्द गरिदिनुस् ।’ थापाले अगाडि भनेका छन्, ‘तपाईंको सम्पूर्ण शक्ति र समय कोरोना महामारीविरुद्धको युद्धमा लगाउनुस् ।’ 

कामना र प्रार्थनाले मात्रै जीवन जोगाउन सम्भव नहुने भन्दै उनले काम गरेरै देखाउनुपर्ने आवश्यकता भएको बताए । इमान्दारितापूर्वक महामारीसँग लडिरहेकाहरुका नेपाली जनताको जीवन जोगाउन लाग्ने हो भने आफू प्रधानमन्त्रीलाई सहयोग गर्न तयार रहेको उनले बताए ।  

‘तपाईंका विचार र व्यवहारप्रति मेरा थुप्रै प्रश्नहरु छन् । तपाईंका बचन र कर्मप्रति मेरा थुप्रै असन्तुष्टिहरू छन्’, उनले भने, तर केही दिन यी सबै प्रश्न असन्तुष्टि, असहमति सबैलाई थाति राख्न म तयार छु ।’