प्रधानमन्त्री ओलीले गुमाए संसदमा विश्वासको मत, पक्षमा ९३ र विपक्षमा १२४

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनीधिसभाको विषेश अधिवेशनमा विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओलीको बहुमत गुमेको हो ।
प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा ९३ र विपक्षमा १२४ सांसदहरुले मतदान गरेका छन् । १५ जना सांसदहरूले तटस्थ बसेका थिए । प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए ।
सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरे ।
प्रधानमन्त्री ओलीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन चाहेका थिए । सोही धाराको उपधारा ३ मा विश्वासको मत लिने प्रस्ताव ‘प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने’ उल्लेख छ ।
संविधानको सोही प्रावधान अनुसार प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको मन्त्रिपरिषद्ले काम चलाउ सरकारको रूपमा काम गर्नेछ ।