सरकारको कार्यशैलीले ‘दरिद्र नेपाल, दु:खी नेपाली’को स्थिति आयो : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक आफुहरुलाई धोका दिएको बताएका छन् ।
प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष यादवले प्रधानमन्त्रीले पटक-पटक धोका दिएको बताउँदै अब विश्वास गर्न नसकिने बताएका हुन् ।
उनले भने, ‘पहिले पहिले हामीसँग सम्झौता गर्नुभएको थियो । हामीले सहयोग गर्यौ तर अन्तिममा धोका दिनुभयो । उहाँले पटक पटक धोका दिनुभयो, अब कसरी विश्वास गर्न सकिन्छ । जुन संसदमा यहाँको खुद विश्वास छैन यहाँको सांसदले कसरी विश्वास गर्ने कसरी विश्वासको मत लिनुहुन्छ यादवले भने ।
अध्यक्ष यादवले विकास र समृद्धिको कुरा गर्दै सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा ल्याएपनि कार्यशैली त्यसको ठ्याक्कै उल्टो भएको बताए ।
‘सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आफ्नै नारालाई बेवास्ता गर्यो । सरकारको कार्यशैलीले ‘दरिद्र नेपाल, दु:खी नेपाली’को स्थिति आयो,’ उनले भने ।