विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री ओलीमा छैन : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीमा नरहेको बताएका छन् ।

सोमबार प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको विपक्षमा धारणा राख्दै प्रचण्डले आफैंले विघटन गरेको संसदमा आएर विश्वासको मत माग्ने नैतिक अधिकार प्रधानमन्त्रीमा नरहेको दाबी गरे ।

‘प्रधानमन्त्री ओलीजी फेरि देशलाई मध्यावधि निर्वाचनतिर जान लागेको त होइन ?’, उनले प्रश्न गरे, ‘तपाईंले विश्वासको मत माग्ने पनि नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ? यी माननीय सदस्यसँग मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्री ज्यू ? पार्टीभित्र भएको आन्तरिक विषयलाई सिंगो देश र समाजलाई आक्रान्त हुनेगरी यो सार्वभौम संसदलाई तपाईंले विघटन गरेको होइन ?’

प्रचण्डले सरकार गठन भएको बेलादेखिकै गतिविधि हेर्दा प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्ने अवस्था नदेखिएको बताए । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन पनि सुझाव दिए । उनले भने, ‘तपाईं अहिले पनि राजीनामा दिएर लोकतान्त्रिक मार्ग प्रसस्त गर्नुहुन नै राम्रो हुन्छ भन्ने स्मरण गराउन चाहान्छु । ’

Leave A Reply

Your email address will not be published.