अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान आज चीन जाँदै
काठमाडौं : कोरोना भाइरस संक्रमित बढेसँगै अक्सिजन र सिलिण्डर अभाव भएपछि चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज आज बेइजिङ जाँदैछ ।
जहाज आज राति साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।
सरकारले चीनबाट २० हजार सिलिण्डर ल्याउने बताएको छ । पौडेलका अनुसार नेपाल एयरलाइन्सले स्वास्थ्य मन्त्रालयको समन्वयमा बेइजिङबाट मात्रै ४०० सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने छ ।
चीनबाट अक्सिजन सिलिण्डर ल्याउनका लागि भाडादर तोकिएको छैन । निगमले राखेको भाडा दर अनुसार अक्सिजन सिलिन्डर ल्याउनका लागि १ लाख ७६ हजार १ सय ५२ रुपैयाँ लाग्ने छ ।
अहिले नेपाल सरकारसँग जहाज भाडा दर यति नै भनेर सम्झौता नभएकोे निगमले जनाएको छ । सोही विमानबाट १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको बताइएको छ । होङ्सी होल्डिङ गु्रपको सहयोगमा अक्सिजन सिलिण्डर लगायतका समाग्री ल्याउन लागिएको हो ।