सामूहिक राजीनामा दिनू अपराध हो, यस्तो प्रयास नगरौं : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार प्रेस वक्तव्य जारी गर्दै कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताएका छन् ।

ओलीको वक्तव्यमा आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरे ।

ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढाली छाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको बताएका छन् । उनले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने आग्रह गरेका छन् ।

यसैबीच नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेका हुन् ।

उनले कोरोनाका कारण संसदीय दलको बैठक बस्न नसकेपनि प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईद्वारा सांसदहरूलाई प्रेषित पत्रमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.