काठमाडौं : नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने घोषणा गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा भाग नलिने बताएका हुन् ।
सभापति देउवाले संवैधानिक संरचनालाई भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा परिषद्को बैठकमा भाग नलिने जनाएका छन् ।
प्रधानमन्त्रीले परिषद्को कार्य क्षेत्रलाई संकुचित गर्ने गरी संघीय संसदलाई छलेर अध्यादेश जारी गरी अनुचित कार्य गरेको सभापति देउवाले आरोप लगाएका छन् ।
‘नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ’, देउवाको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।’
