काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेरम कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले कोरोना विरुद्धको खोप आउन ढिलाई भएको बताएको छ ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सेरम कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खोप ल्याइने जनाएको छ ।
‘खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम ईन्सटिच्युट ईन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ, थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन,’ मन्त्रालयको सूचनामा भनिएको छ ।
त्यस्तै मन्त्रालयले खोप खरिदबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा कुनै सत्यता नरहेको दाबी गरेको छ ।
कोभिसिल्ड खोप खरिदबारे आएका खबरहरुमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको भन्दै खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैंले निर्णय गर्ने भएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका खबरहरुमा सत्यता नरहेको बताएको हो ।
