धरहरा अब कहिल्यै ढल्दैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा अब कहिल्यै नढल्ने बताएका छन् । शनिबार पुनर्निर्मित धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीहरुको भावनाको प्रतीक धरहरा अब उप्रान्त नढल्ने भन्दै घरघरमा दिपावली गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘नवनिर्मित धरहरा अब उप्रान्त ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिमपटक २०७२ सालमा धरहरा ढल्यो । त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’
उनले अगाडि भने, ‘आजको यो दिनमा कमसेकम आफ्नो घरमा दीपावली गरौं भनेर अनुरोध गर्छु ।’
प्रधानमन्त्री ओलीले धरहरा चढ्दा पेरिसको आईफिल टावर चढेको जस्तो अनुभव भएको पनि सुनाए । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले जस्तोसुकै गर्मीमा पनि बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’
पुनर्निर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सतर्कता अपनाउँदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निर्माण सम्पन्न भएको उनको भनाइ थियो । उनले महाभुकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचना भित्र काम गर्न पाउने गरी प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गरे ।
वर्तमान सरकारले सम्मृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान अन्तर्गत कोही पनि भोकै नरहने गरी नेपाललाई विकसित राष्ट्र बनाउने प्रतिवद्धता जनाए । उनले धरहरा निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्ने आवश्यकता रहेको बताए ।
आफुलाई आवश्यक पर्ने वस्तुहरुको उत्पादन आफैंले गर्नुपर्ने र आयातमुखी नभई उत्पादनमुखी बन्नुपर्ने उल्लेख गर्दै उनले त्यही बाटोमा सरकार अघि बढेको बताए । सरकारले २०७८ सालभित्र काठमाडौंको सडकबाट मगन्ते, भिखारी र सडकबालबालिका मुक्तको अवस्थामा पुर्याउने दोहोर्याए । उनले ३९६ वटा अस्पताल निर्माण शुरु गरिएको, मेलम्चीको पानी काठमाडौं आएको, तराईमा सिंचाईका काम लगायत विकास निर्माणका कामहरु भइरहेको बताए ।