काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी महाधिवेशन कमिटीको बैठकमा अध्यक्ष ओलीले नयाँ स्थायी कमिटी गठन गरेका हुन् ।
स्थायी कमिटीमा आफू पक्षीय नेतासहित ओलीले वामदेव गौतमलाई पनि राखेका छन् । कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका भने कसैलाई पनि राखिएको छैन ।
स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, किरण गुरुङ, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।
एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गत फागुन २८ गते ओलीले खारेज गरेका थिए ।
यसैगरी बैठकले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने निर्णय बैठकले गरेको हो ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कारवाहीमा परेका चार जनाले फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए । बैठकले पहिले शाहीलाई मत दिएर पछि सच्याउने देवी ओलीलाई पनि थप स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ ।