काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका २७ सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र बुझाउन थालेका छन् ।
उनीहरुले संसदीय दलको कार्यालयमा सामूहिक नभएर व्यक्तिगत रुपमा स्पष्टीकरण पत्र बुझाउन थालेका हुन् ।
ओलीले पार्टी अनुशासन विपरित गएको भन्दै नेपालसहित २७ संघीय सांसद र ५ जना कर्णाली प्रदेश सभाका सदस्यलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए ।
वरिष्ठ नेता माधवकुमार नेपालले संसदीय दलका नेता एवं पार्टी अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणमा सात बुँदे जवाफ फर्काएका छन् ।
नेपालका तर्फबाट सांसद रामकुमारी झाँक्रीले स्पष्टीकरण बिहीबार संसदीय दलको कार्यालयमा बुझाएकी हुन् ।
स्पष्टीकरणमा नेता नेपालले आफूले नयाँ दल खोलेको भन्ने ओलीको आरोप असत्य भएको दाबी गरेका छन् ।
आफूले एमालेको नवौं महाधिवेशनबाट पारित विधानअन्तर्गत काम गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई आपराधिक क्रियाकलाप देख्नु ओलीको दृष्टि दोष भएको बताएका छन् ।
त्यस्तै नेता सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टीकरण पत्रमा आफूलाई लगाइएको आरोपहरु निराधार भएको बताएका छन् ।
‘सबै आरोपहरु निराधार, कपोलकल्पित, पूर्वाग्रहबाट ग्रसित देखिन्छन् । त्यहाँ उल्लेखित कुनैपनि क्रियाकलाप मैले गरेको छैन । नेपालको संविधानमा उल्लेखित समाजवादउन्मुख शासन प्रणाली, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदन र विधानमा उल्लेखित राजनीतिक, आर्थिक र सांस्कृतिक कार्यदिशा, नीति, कार्यक्रम र संयुक्त वाम चुनाव घोषणापत्रसंग मेल खाने गरी गतिविधिहरु गर्न मैले आग्रह गरेको हुँ,’ उनले लेखेको पत्रमा लेखेका छन्, ‘नेपालको संविधान र पार्टीको सिद्धान्त, नीति र कार्यक्रम, विधान, विपरीतका कामकुराको आलोचना र विरोध गर्नपाउने नैसर्गिक अधिकार सबै पार्टी सदस्य एवम् नागरिकहरुमा रहेको तथ्य स्पष्टै छ । यस्तो आलोचना र विरोधलाई सरकारविरुद्ध काम गरेको भन्ने हो भने लोकतन्त्रको नै मृत्यु हुन्छ र पार्टीको माक्र्सवाद-लेनिनवादको द्वन्द्ववादी सिद्धान्त तथा जनवादको अवसान हुन्छ ।’