एमाले केन्द्रीय कार्यालय थापाथलीमा सर्‍यो

0

काठमाडौं : नेकपा एमालेको पार्टी मुख्यालय बिहीबारदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ । 

सो कार्यालय सञ्चालनमा आएसँगै बिहीबार प्रधानमन्त्री  तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका थिए ।

यसअघि यही वैशाख १ गते नै कार्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । बिहीबार प्रधानमन्त्री  ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा बस्नुभएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

यस्तै स्थायी कमिटी बैठक बस्ने कार्यकक्षमा पनि पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलसंँग केही बेर पार्टी कार्यालययमा बसेका थिए ।

तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त कार्यालयमा पार्टी अध्यक्ष, महासचिव, विदेश विभाग प्रमुख, सङ्गठन विभाग प्रमुखलगायतका कार्यकक्ष सहित १२ कोठा छन् ।

यसअघि  प्रधानमन्त्री ओलीले गत चैत ११ गते पार्टीको नयाँ मुख्यालयको निरीक्षण गरेका थिए । एमालेले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले पार्टी मुख्यालय थापाथलीमा सारेको हो । 

विसं २०७२ को भूकम्पले बल्खु, मदननगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित प्रतिष्ठानको कार्यालय भाडामा लिई सञ्चालन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.