नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । 

अन्य घाइतेको भने भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रनाउक गिरीले बताए । शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बुटवलबाट नारायणगढका लागि छुटेको ना५ख ७००० नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेको थियो ।

बस दुर्घटनामा परी बसमा सवार सबै घाइते भएका थिए । सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो ।