काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिन लागेका हुन् । आफूलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि शाहीले विश्वासको मत लिन लागेका हुन् ।
कर्णाली प्रदेशमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन् । विश्वासको मत प्राप्त गर्नका लागि मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेस, राप्रपा र एमालेभित्रकै कम्तीमा एक सांसदको मत आवश्यक पर्नेछ ।
माओवादी केन्द्रले शाही नेतृत्वको सरकारले कर्णालीमा विकास निर्माणको काममा गति दिएको भन्दै विश्वासको मत दिन अन्य दलहरुलाई आग्रह गरेको छ ।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार कर्णाली सरकारको नेतृत्व माओवादी केन्द्रको भागमा परेको थियो । सर्वोच्चको फैसलाले नेकपा खारेज गरेर दुवै पार्टीलाई पहिलेकै अवस्थामा फर्काइदिएपछि एमालेले शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।