एजेन्सी : इन्डोनेशिया र पूर्वी टिमोरमा बाढी तथा पहिरोका कारण कम्तीमा ५० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा इन्डोनेशियाका ४१ र पूर्वी टिमोरका ११ जना रहेका छन् भने २७ जना बेपत्ता भएका छन् ।
उद्धारमा संलग्नहरुले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन् । इन्डोनेशियाको पूर्वी क्षेत्रको फ्लोरेस आइल्याण्ड तथा छिमेकी देश पूर्वी टिमोरमा बाढी र पहिरोले जनधनको क्षति भएको हो । बाढी र पहिरोका कारण चार उपजिल्ला र सात गाउँ प्रभावित भएका छन् ।
घटनामा परी घाइते भएकालाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् ।
बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजीकार्य जारी रहेको बताए ।