काठमाडौं : पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि भष्मासुरको संज्ञा दिएका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत गरेकोमा सराहना गर्दै डा. भट्टराईले अहिलेको मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै रहेको बताएका हुन् ।
शुक्रबार नेपाली कांग्रेसले ओली सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गर्दै ओलीको राजीनामा माग गरेको थियो ।
शनिवार सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले कांग्रेसको सराहना गर्दै अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य भुल्न नहुने बताएका छन् ।
सबै दलको आ–आफ्ना एजेण्डा भएपनि ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता र प्राथमिकता हुने भन्दै उनले अहिलेको मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ गर्नु नै हो भनी ट्वीट गरेका हुन् ।