काठमाडौं : विस्फोटक पदार्थमा प्रयोग हुने युरेनियमसहित चार जना पक्राउ परेका छन् । साढे दुई किलोग्राम युरोनियमसहित ४ जना काठमाडौंको बौद्ध क्षेत्रबाट पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो । युरेनियमसहित पक्राउ परेको यो घटना नेपालमा नै पहिलोपटक भएको एआईजी हरिबहादुर पालले जानकारी दिए ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा उनीहरूबाट बरामद भएको पदार्थ युरेनियम नै भएको प्रमाणित भएको एआईजी पालले बताए ।
पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने छन् ।
उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।