कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कद्वारा दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको पुस्तकालयका लागि रकम संकलन गर्ने उद्देश्यका साथ एक युवाले साइकल यात्रा गर्न लागेका छन् ।
दोलखाको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालय भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले हेल्प नेपाल नेटवर्कको व्यवस्थापनमा साइकलयात्री देवेन्द्र बस्न्यातले दोलखादेखि दिपायलसम्म करीब १२ सय किलोमिटर एकल साइकल यात्रा गर्न लागेका हुन् ।
पत्रकार सम्मेलनमा नेटवर्ककी सचिव तथा स्वास्थ्य संयोजक लता घिमिरेले संस्थाले मूलतः शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको र विपदका बेला अल्पकालीन सहयोग गरिरहेको जानकारी दिइन् । उनले यो अभियानबाट संकलन हुने रकम विद्यालय भवन र भक्त बीबी फर ह्युमेनिटीको संयोजनमा डडेल्धुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि खर्च गरिने जानकारी दिइन् ।
साइकलयात्री बस्न्यातले एक दशकभन्दा लामो साइकल यात्राका क्रममा विभिन्न अभियानहरु संचालन गरेको भए पनि शिक्षाका लागि साइकलयात्रा गरी आर्थिक सहायता संकलन गर्ने कार्य नेपालमा पहिलो भएको बताउँदै आफूले यसलाई एउटा सुनौलो अवसरका रुपमा लिएको बताए ।
बस्न्यातले ‘अभियान एक किलोमिटर एक रुपैयाँ’को रहेको जानकारी दिंदै सहयोग गर्न चाहने व्यक्ति, समूह तथा संस्थाले मोबाइल एप खल्तीको बजार ट्याबमा गएर ‘पेडल फर एजुकेशन’ क्लिक गरेर रकम दिन सकिने जानकारी दिए ।
त्यसैगरी हेल्प नेपाल नेटवर्कको नाममा रहेको सानीमा बैंकको खाता नम्बर ००१०१००१००००७९१ मा जम्मा गर्न सकिने जानकारी दिँदै उनले अभियानका क्रममा आफूले कुनै रकम नलिने र साइकलको मर्मत लगायतका खर्च पनि स्वयंले नै व्यहोर्ने बताए ।
सन् २००८ देखि निरन्तर साइकल अभियान चलाइरहेका बस्न्यातले विश्व साइकलयात्री पुश्कर साहसंग मिलेर विभिन्न प्रतियोगिता, पर्यटन प्रबद्र्धन लगायतका काम गर्दै आएका छन् ।
फागुन २८ गते काठमाडौंबाट संस्कृतिविद् शताब्दिपुरुष सत्यमोहन जोशी तथा संस्थाका सल्लाहकार एवं पूर्वअर्थमन्त्री तथा साहित्यकार शंकर कोइराला, विजय राजभण्डारीले बस्न्यातलाई विदाई गर्ने छन् । दोलखाबाट काठमाडौं आइपुगेपछि काठमाडौंको नक्साल नारायणचौरमा अर्को शुभयात्रा विदाई समारोहको आयोजना गरी चैत्र १३ गते अभियान समापन हुनेछ ।
दुई दशकअघि ’एक महिना एक डलर’ सहयोग अभियानबाट शुरु भएको नेटवर्कले अहिलेसम्म ५० भन्दा बढी विद्यालय भवन बनाइसकेको छ भने त्यतिकै संख्यामा पुस्तकालय तथा पछिल्ला दिनमा इ–लाइब्रेरीहरु पनि संचालनमा ल्याएको अध्यक्ष अरुणसिंह बस्न्यातले जानकारी दिए ।
नेपालको दुर्गम र ग्रामीण क्षेत्रहरुमा शिक्षा र स्वास्थ्यका लागि काम गरिरहेको हेल्प नेपाल नेटवर्कले निर्माण गरेको राजकुलेश्वर विद्यालय भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माण भैरहेको र हालसम्म ३ करोड ७० लाख रुपैयाँ खर्च भएको, अनुमानित लागत ६ करोड रुपियाँ रहेको पनि अध्यक्ष बस्न्यातले जानकारी दिए ।