काठमाडौं : सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।
सरकारका प्रवक्ता पार्वत गुरुङले सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनले चाँडै विप्लव समूहको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने बताए ।
मन्त्री गुरुङले सबै सशस्त्र समूह र द्वन्द्वमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउन सरकारले वार्ता टोली गठन गरेको बताए ।
प्रतिबन्ध नहटाई वार्ता टोली गठन गरेको प्रश्नमा मन्त्री गुरुङले ती सबै वार्ताकै क्रममा टुंगो लाग्ने जानकारी दिए ।
गएको शनिबार नेकपा महासचिव चन्दले विज्ञप्ति जारी गरेर सरकारले वातावरण बनाएमा वार्ताका लागि तयार रहेको बताएका थिए ।
उनले वार्ताका लागि आफ्ना राजनीतिक गतिविधिमा राज्यले लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने माग गरेका थिए ।
राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै मन्त्रिपरिषदले विप्लव समूहमाथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । उसमाथि हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप सरकारको छ ।