राष्ट्रिय आविष्कार केन्द्रको डेटाबेस बनाउने काम अन्तिम चरणमा

लन्डन : सामाजिक अभियन्ता महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रले अध्ययन गरिरहेका प्रोजेक्टहरुको डेटाबेस बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ ।

यूरोपमा रहेका विभिन्न क्षेत्रका विज्ञ इन्जिनियर तथा पेशाकर्मीहरुको संलग्नतामा गठित फ्रेन्डस् अफ एनआइसी-नेपालको आइतबार साँझ बसेको भर्चुअल बैठकमा उक्त जानकारी गराइएको हो ।

डेटाबेस गठन भएपछि आविष्कार केन्द्रले अध्ययन गरेका प्रोजेक्टहरुबारेका सम्पूर्ण जानकारी सबैका लागि उपलब्ध हुनेछन्  । उक्त डेटाबेसमा सँभाव्यता अध्ययन भै रहेका प्रोजेक्टहरु, छनौट भएका प्रोजेक्टहरु, अध्ययन तथा अनुसन्धान भैरहेका प्रोजेक्टहरु, काम अन्तिम चरणमा पुगेका प्रोजेक्टहरु र बजारिकरण गर्न सकिने प्रोजेक्टहरु सबैको ब्याख्या गरिने फ्रेन्डस् अफ एनआइसी-नेपालका संयोजक इन्जिनियर हरिकृष्ण न्यौपानेले जानकारी दिए।

आविष्कार केन्द्रले हालसम्म अध्ययन गरेका प्रोजेक्टहरु मध्ये २२ वटा प्रोजेक्टहरु बजारीकरण गर्न सकिने अवस्थामा रहेका जनाइएको छ ।

यसैगरी बैठकमा युरोप क्षेत्रबाट राष्ट्रिय आविष्कार केन्द्रका लागि सहयोग संकलन गर्ने उद्देश्यले बेलायतमा एक बैक अकाउन्ट खोलिएको पनि जानकारी दिइयो ।

भविष्यमा आविष्कार केन्द्रद्वारा बजारीकरण गर्न सकिने भनि तोकिएका प्रोजेक्टहरुमा लगानी जुटाउने उद्देश्य  पनि फेन्ड्स अफ एनआइसीको छ ।

बैठकमा वरिष्ठ इन्जिनियर घनश्याम पौडेल, नेप्लिज डाक्टर्स एसोसिएन युकेका अध्यक्ष डा. रमेश खोजु, प्रा. पदम सिम्खडा, प्रा. केशब दाहाल, रोशन भट्टराइ, युवा न्यौपाने, डा. जगन कार्की, पत्रकार अनुराधा पौडेल लगायतको  उपस्थति रहेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रलाई  अरु सक्षम र गतिशिल बनाउन फ्रेन्ड अफ एनआइसी- नेपाललाई आगामी दिनमा अरु बढी क्रियाशील बनाउने प्रतिबद्धता पनि बैठकमा गरिएको थियो ।