पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्न भन्दै कार्यकर्ताको मन जित्ने प्रयास गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला । म रहिन भने पनि केही छैन, पार्टी छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’
प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई आफूले राजनीतिमा ल्याएको र अहिले उनलाई राजनीतिमा नल्याएको भए हुनेरहेछ भन्ने लागेको बताए । ओलीले नेपाललाई त्यतिबेला राम्रो मान्छे ठानेर ल्याएको तर अहिले उनी खराब सावित भएको दाबी गरे ।
उनले पुष्पकमल दाहालको पनि दरबार र खराब मानिसहरुसँग बाक्लो साँठगाँठ रहेको बताए । दाहालको दरबारसँगको साँठगाँठ भनेर साध्य छैन भन्दै ओलीले खराब तत्वहरुसँग साँठगाँठ रहेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई सुतली बम पड्काएर जनतालाई नतर्साउन आग्रह गर्दै भयरहित देश बनाउने अभियानमा लाग्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने भन्दै दाहाल–नेपाल समूहका केन्द्रीय सदस्यदेखि सांसदहरुलाई हटाइदिने चेतावनी पनि दिए ।