काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वाेच्च अदालतमा आफ्नो लिखित जवाफ पेश गरेका छन् ।
आफूविरुद्ध लागेको अदालतको अवहेलना सम्वन्धी मुद्दाका सम्बन्धमा सर्वोच्चको आदेश अनुसार उनी अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् । आइतबार विहान ११ बजे सर्वोच्च अदालतमा जवाफ बुझाएर दाहाल फर्केका हुन् ।
नेकेपा विभाजनपछि आयोजित विरोध सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतारेर गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।
सो मुद्दामा बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दाहाललाई सात दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
के छ जवाफमा ?
लिखित जवाफमा दाहालले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताएका छन् ।
उनले लिखित जवाफमा भनेका छन्, ‘निवेदकको बुँदा नम्बर ३–४ मा उल्लेख संवैधानिक व्यवस्था स्वीकार गरेर नै संवैधानिक अदालतमा हाम्रो पार्टीका सांसदले रिट निवेदन लिएर आएको तथ्य स्पष्ट नै छ । हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव हो । यस्तो कुरा स्मरण गर्नु, व्यक्त गर्नु मुद्दाको पक्षको अधिकार नै हो । तर, सो कुरा व्यक्त गर्न नै नपाउने, आशा, भरोसा गर्न नपाउने विधिशास्त्रीय कुराभित्र पर्दैन । फैसला अवज्ञा गर्ने वा फैसला उल्लंघन गर्ने भन्ने कुरा म र मेरो दलबाट हुनु हुँदैन । फैसलामा मुद्दाका पक्षले सन्तोष, असन्तोष व्यक्त गर्नु पनि स्वाभाविक हो ।’
त्यस्तै दाहालले जवाफमा संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको उल्लेख गरेका छन् । उनले यसबारेमा थप बोल्न नचाहेको समेत प्रष्ट पारेका छन् ।
लिखित जवाफमा भनिएको छ, ‘वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्न ।’
हेर्नुहोस् लिखित जवाफको पूर्णपाठ :