काठमाडौं : सरकारले फागुन २३ गते संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद अघिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गत मंगलबार संसद पुनर्स्थापना गर्ने फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाससले १३ दिन भित्र संसद बैठक राख्न सरकारका नाममा आदेश जारी गरेको थियो ।
सर्वोच्च अदालतले दिएको समय सीमा अनुसार बैठक फागुन २४ गतेभित्र बस्नुपर्ने थियो । त्यसको एक दिन अघि बैठक बोलाउन सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभाको बैठक बोलाउने सन्दर्भमा बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलसमेत गरेका थिए ।
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि वैशाख १७ र २७ गते दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी संसद विघटन गरेकी थिइन् ।
तर सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विघटन असंवैधानिक भएको ठहर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेको थियो ।
संविधानमा संसदको एउटा अधिवेशन र अर्को अधिवेशनको बीचमा ६ महिनाभन्दा लामो अन्तर हुन नहुने व्यवस्था छ । यसअघि संसदको अधिवेशन २०७७ असार १८ गते अन्त्य भएको थियो । जसको छ महिना पुसको १८ गते पुग्थ्यो । त्यतिबेला सरकारले पुस १७ गते भित्र संसदको अधिवेशन आह्वान गर्नुपर्ने हुन्थ्यो । तर पार्टी भित्रको आन्तरिक विवाद चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले बैठक बस्नुपर्ने मिति अगावै संसद विघटन गरेका थिए ।