कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं : कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएपछि उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।

बिहीबार राति मस्तिष्कघात भएका उनलाई वीर अस्पताल भर्ना गरिएको थियो । शुक्रबार विहान थप उपचारका लागि उनलाई वीर अस्पतालबाट नर्भिक अस्पताल लगिएको थियो । हाल उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

अस्पतालको प्रतिक्रिया

जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ । शुक्रबार दिउँसो पत्रकारहरुसँग कुरा गर्दै उनको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताए ।

 स्वास्थ्य अवस्था स्थिर देखिएपनि सुधार हुने सम्भावना भने कायमै रहेको चिकित्सक झाले बताए ।

दिमागमा रगत र पानी जम्यो

टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा. झाले बताए । उनले भने, ‘आँखाको नानी फुलेको देखियो । दुवैतिर कसैको आँखाको नानी फुलेको छ भने त्यो अलमोस्ट डेथ मान्छेहरुमा त्यस्तो देखिन्छ । एकातीर त्यस्तो देखिनु भनेको आधार दिमागले राम्रोसित काम नगरेको जस्तो देखिसक्यो भनेपछि पक्कैपनि रगत बग्ने भइरहेको छ भनेर तुरुन्तै सिटिस्क्यान गर्यौं । सिटिस्क्यान गर्दा रगत दिमागको बीच भागमा एउटा सानो तलाउजस्तो हुन्छ त्यहाँ पानी बन्छ त्यो ठाउँमा गएर जमेको देखियो ।’

टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको र १ सय ३० एमएल जती पानी निकालिएको पनि डा. झाले बताए । त्यसपछि रक्तचाप कम भएकाले रक्तचाप बढाउने औषधि दिइएको पनि उनले बताए । यस्तो अवस्था जटिल हुने पनि डा. झाले बताए ।

नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहेको र वान्ता भई फोक्सोमा असर भएकाले शास फेर्न गाह्रो भइराखेको डा झाले बताए ।