पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजेका लागि बैठक डाकिएको छ ।
बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड र नेपाल समूहको प्रस्तावलगायत विषयमा छलफल हुने छ ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनबारे गतिविधि सुरु भएको छ ।
अबको सरकार गठनमा कांग्रेसको भूमिका महत्वपूर्ण हुने छ । कांग्रेसले गर्ने निर्णयले नै नेपालको भावि राजनीतिक दिशा निर्धारण गर्ने छ । प्रचण्ड र नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव राखेका छन् । देउवाले यही विषयमा पार्टीमा छलफल पछि मात्रै निर्णय दिने जवाफ दिएका थिए ।
आजको बैठकपछि कांग्रेसको संसदीय दलको बैठक बस्ने छ । यता प्रधानमन्त्री ओली पनि सभापति देउवाको साथ खोजिरहेका छन् । उनले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।
यि सबै कुरा कांग्रेसको निर्णयमा भर पर्ने छ । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।