नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेको लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको बताएका छन् ।
सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको लडाइँ पदको लागि नभएको भन्दै विचार, सिद्धान्त, प्रणालीको तथा अग्रगमन र प्रतिगमनको भएको बताएका हुन् ।
प्रचण्डले आफुहरु पदको लागि नै लडाई गरिरहेको अफवाह ओली पक्षले फैलाएको भन्दै अफवाहका कुनै सत्यता नरहेको तर्क पनि गरे ।
अहिले आफूहरु जनताको पक्षमा गएको भन्दै प्रचण्डले ओली जनताबाट टाढिएको दाबी गरे ।
पुस ५ देखि नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको प्रचण्डके भनाई थियो ।
प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि ओली रक्षात्मक अवस्थामा गइसकेको उल्लेख गरे । माघ २८ मा राजधानीमा एकताबद्ध भएर जनप्रदर्शन हुने उनले जानकारी दिए ।
त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले ओलीले नारायणहिटी अघि भएको सभा पञ्च¥यालीको पुनरावृत्ति भएको बताए । उक्त कार्यक्रममा तीन लाख मानिस उतार्ने बताए पनि २०–२५ हजार मानिसहरु मात्रै आएपछि ओली समूहका नेताहरु निराश भएर एक अर्कालाई आरोप लगाएर बसेको समेत उनले बताए । संविधान र लोकतन्त्र बचाउनका लागि अहिलेको लगाई भएको र त्यसैका लागि आफुहरु जनतामाझ गएको जिकिर गरे ।
कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरुले सरकारले संविधान कुल्चने काम गरेको र लोकतन्त्रका उपलव्धीहरुलाई नै धरापमा पार्ने काम गरेकाले आफुहरु संघर्षमा जानु परेको धारणा राखेका थिए ।