काठमाडौं : प्रतिगमनविरुद्ध आन्दोलनरत बृहत् नागरिक आन्दोलनमाथि बालुवाटारमा प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेको छ ।
कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको टोलीले सोमबार कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो ।
मार्चपास गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि जाने क्रममा प्रहरीले टङ्गालको भाटभटेनी नजिकै लाठीचार्ज र पानीको फोहरा हानेको हो । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठी तथा पानीको फोहरा हानेर दमन गरेको भन्दै अभियन्ताले सरकारको आलोचना गरेका छन् ।
संसद विघटनलगायत सबै प्रकारका प्रतिगमन विरूद्ध अभियन्ताले सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ्य र न्यायपूर्ण बाटोमा फर्काउनुपर्ने बताएका छन् ।
प्रदर्शनमा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो । प्रतिनिधिसभा विघटनपछि नागरिक अगुवाले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।