माघ २३ गते ओली समूहले जनसभा गर्ने

काठमाडौं : नेकपाको केपी शर्मा ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । बागमती प्रदेश संगठन कमिटीले सोमबार पत्रकार सम्मेलन गर्दै वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बास्तविकता जनतालाई जानकारी गराउने उद्देश्यले जनसभा आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

सभाका लागि नेकपाका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको सयोजकत्वमा ११ सय ११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

जनसभा परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले सभामा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन मार्फत वर्तमान राजनीतिक परिवेशको सम्बन्धमा गोप्य रहेको कुरा सार्वजनिक गर्ने बताए ।

नेकपाले माघ २१ गते १० हजार मोटर साइकल र्‍याली पनि गर्ने भएको छ । सभामा बागमती प्रदेश अन्र्तगतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्ला गरी १७ जिल्लाका नेता कार्यकर्ताको नेतृत्वमा जनपरिचालन गरी सभालाई सफल बनाइने बताइएको छ । सभामा जनप्रतिनिधिहरु समेत सहभागी हुने बताइएको छ ।