काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १३ गते सिठ्ठी जुलुस गरिने भएको छ । यस्तै माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना कार्यक्रम कार्यक्रम घोषणा गरिएको छ ।
माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने पनि प्रचण्ड-माधव समूहले जनाएको छ । १५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा सभा हुने भएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालले सम्बोधन गर्ने भएका छन् ।
यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्याली र २६ गते मसाल जुलुस हुने भएको छ । माघ २८ मा काठमाडौंमा विरोध सभा गरिने भएको छ ।